
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले २ अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।
एशिया कपको यात्रा सुरु हुनु अगाडि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले २ अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन् ।
आगामी अगस्ट ३० मा पाकिस्तानविरुद्ध खेल्दै नेपालले एशिया कपमा डेब्यू पनि गर्दैछ । एशिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ । त्यसका लागि नेपाली टोली मंगलबार नै पाकिस्तान प्रस्थान गरेको छ । कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारी अनुरूपको प्रदर्शन गर्ने बताए ।
बलात्कार अभियोगको मुद्दा झेलिरहेका सन्दीप लामिछानेले भने खेल्ने वा नखेल्ने सो विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्त्व सबैमाझ स्पष्ट रहेको पौडेलले पत्रकार सम्मेलनमा बताए ।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल अर्काे बलियो टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ । त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलंकामा भारतसँग खेल्न जानेछ ।
रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । यद्यपि सन्दीपको सहभागिताबारे भने अहिलेसम्म टुंगो लागेको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक मोन्टी देशाई हुन् ।