News Griha :: न्यूजगृह
‘अपरेसन फोक्सट्रोट’ : शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं— प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्नको लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा अहिलेसम्म सातजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अपरेसन फोक्सट्रोट’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको आरोपमा विभिन्न मितिमा पक्राउ परेका सातजनालाई शुक्रबार राति सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौँकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौंका २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर छन् ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शैक्षिक योग्यतामा अङ्क वास्तविकभन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाले पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई पत्राचार गरी यकिन गरी नक्कली भएको आधारमा पक्राउ गरी अनुसन्धान गरेको हो । पक्राउ परेका सातैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

यसअघि यही प्रकरणमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टरलाई पक्राउ गरेको थियो । सक्कली डाक्टर पक्राउपछि सीआईबीको अनुसन्धानमाथि धेरैले प्रश्न उठाएका थिए । यही प्रकरणमा सीआईबीले प्रतिनिधि सभा सदस्य सुनिल शर्मालाई पनि पक्राउ गरेको थियो । तर उनी अदालतको आदेशले थुना बाहिर छन् ।  

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०७:५६
Weather Update