News Griha :: न्यूजगृह
रेखा थापाको 'उपहार'मा समीक्षाको स्वर, गीत रेकर्डपछि के भनिन् समीक्षाले?

काठमाडौं— नायिका रेखा थापाले निर्माणाधीन चलचित्र ‘उपहार’को गीत गायिका समीक्षा अधिकारीलाई उपहार स्वरुप दिएकी छन् । 

भदौ ७ गतेबाट सुटिङमा जान लागेको रेखाको चलचित्र उपहारका लागि अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्दमा रहेको गीत गायिका अधिकारीको आवाजमा रेकर्ड भएको हो । गीत रेकर्ड गराएपछि नायिका थापाले आफूले आफ्नो प्रतिवद्धता अनुसार नै प्रतिभावान् गायिका अधिकारीको स्वर आफ्नो चलचित्रमा समेटेको बताइन् । 

उनले भनिन् ‘उनी साँच्चै प्रतिभावान् छिन् । यस्तो प्रतिभालाई जोगाउनु हाम्रो सामाजिक दायित्व समेत हो भन्ने लागेर मैले पहिल्यै वचन दिएकी थिएँ । आज त्यो वचन पुरा गरेकी छु ।’ थापाले यसअघि समीक्षाबारे कसैले बोल्ने आँट नगरेको बेला समेत सामाजिक सञ्जालमार्फत हिम्मतका साथ अघि बढ्न भन्दै आफूहरू सदैव नाबालिकाहरूको साथमा रहेको बताएकी थिइन् ।  

rekha samikshya new song1691852702.jpg

गायिका अधिकारीले रेखा थापाको चलचित्रका गीत गाउन पाउँदा धेरै खुसी लागेको बताइन् । थोरै मात्रै चलचित्रमा स्वर दिएकी उनले भनिन् ‘रेखा दिदीसँग काम गर्न पाउँदा खुसी लागेको छ । उहाँले मलाई कठिन परिस्थितिमा रहँदा हौसला प्रदान गर्नु भएको छ । म उहाँको हिम्मत र आँटबाट प्रभावित छु । उहाँले दिएको यो अवसरले मलाई धेरै ढाडस मिलेको छ । यो मेरो लागि धेरै खुसीको कुरा हो ।’  
चलचित्र ‘उपहार’ का लागि गीत रेकर्डिङ सँगसँगै अहिले छायांकन स्थल छनोटलगायतका काम भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए । यसअघि देउजा निर्देशित चलचित्र झिँगे दाउमा मुक्त उदासले लेखेको आगो विना बिडी जल्दैन बोलको गीत चर्चित बनेको थियो ।   

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २०:४७
Weather Update