काठमाडौं— प्रहरीले झण्डै ५३ लाख नक्कली रुपैयाँ नोट बरामद गरेको छ । प्रहरीले काठमाडौं उपत्यकाको तीन स्थानबाट उक्त नोट बरामद गरेको हो ।
प्रहरीले नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट कूल ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो ।
प्रहरीले नागढुंगामा जाँच गर्दा लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको थियो । जाँचका क्रममा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो ।
सोधपुछ गर्ने क्रममा बसका चालक तथा सहचालकले प्रहरीलाई आफूहरूलाई अचार भनेर पठाएको बताएका थिए । त्यसकै आधारमा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोटसहित नोट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको थियो ।
प्रहरीले नक्कली नोट कारोबारमा संलग्न भएको नौ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई रहेका छन् ।
यस्तै, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन् ।