
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग क्रिकेट खेल्ने मौका पाउने पाएको बताएका छन् ।
युएईविरुद्ध आइतबार टियू मैदानमा १ सय ७७ रनको फराकिलो जित निकालेपछि बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन् ।
उनले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकै महत्त्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए ।
टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको सोही अनुसार सबै खेलाडीले मेहनतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितको भनाइ छ ।
एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरै भन्दा धेरै खेलाडीले मौका पाउने उनले बताए ।
यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिले सम्मको यात्रा सुखद् भएकोमा खुसी व्यक्त गरे ।
आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भूमिकालाई खेलाडीलाई राम्रोसँग निभ्याएको बताए ।