News Griha :: न्यूजगृह
एक क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्न एसपीको नेतृत्वमा टोली गठन

काठमाडौं— एक क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एसपीको नेतृत्वमा टोली गठन गरेको छ ।

सोमबार एसपी सञ्जयसिंह थापाको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको हो । सुन तस्करी प्रकरणमा राजस्व र भन्सार छलीअन्तर्गतको कानूनका दफा लगाएर राजस्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको थियो ।

अन्तमा अन्तरदेशीय संगठित गिरोहबाट संगठित रुपमा अपराध भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धान दायरा फराकिलो बनाउन भन्दै मुख्य अभियुक्तसम्म पुग्ने गरी अनुसन्धान जिम्मा प्रहरीलाई सुम्पिन विभागलाई शुक्रबार निर्देशन दिएका थिए ।

त्यसलगत्तै महानिरीक्षक बसन्तबहादुर कुँवरले सुन प्रकरणको अनुसन्धान गर्न ब्यूरोलाई निर्देशन दिएका थिए । त्यसपछि आइतबार ब्यूरोले एसपी थापासहित डीएसपी, इन्स्पेक्टर र अरु अनुसन्धानकर्मी रहने गरी टोली गठन गरेको हो ।

यो प्रकरणमा चीन, भारत, बेल्जियनका गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परेका छन् । क्यान्सरका कारण एक जना आरोपित हाजिरी जमानतमा रिहा भएकी छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:४९
Weather Update