
काठमाडौं— सय केजी सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरु गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका १७ आरोपितलाई आइतबार साँझ राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा लगिएको थियो ।
सोमबारदेखि सीआईबीले सुन प्रकरणसहित सङ्गठित र अन्तरदेशीय अपराधमा अनुसन्धान थालेको हो । यसअघि यो प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो ।
‘आरोपितसहित मिसिलहरू आइपुगेको छ, अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ,’ सीआईबी स्रोतले भन्यो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय केजी सुन प्रकरणको अनुसन्धान सीआईबीलाई दिन निर्देशन दिएका थिए । निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको विभागले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । सुनको परिमाण यकिन गर्न अहिले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।
अहिलेसम्म घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण १ जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् । तर मुख्य अभियुक्त भने पक्राउ परिसकेका छैनन् । मुख्य अभियुक्तलाई पक्राउ गरी कानूनी कठघरामा उभ्याउने दायित्व सीआईबीको काँधमा छ ।