
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भन्सार जाँच पास भएर बाहिरिएको सय केजी सुन तस्करी प्रकरण सेलाएको छैन । भन्सार पास भएर बाहिरिएको उक्त सुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो ।
सय केजी सुन तस्करी प्रकरण संसद्मासमेत प्रवेश गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी नेकपा एमालेको छ । सोही माग राख्दै एमालेले संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ । तर सरकार भने उच्चस्तरीय छानविन समिति गठन गर्ने ‘मुड’मा छैन । गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले छानविन गरिरहेको अवस्थामा अर्को उच्चस्तरीय समिति बनाउन नहुने तर्क गर्छन् । ‘छानविन भइरहेको छ । केही व्यक्तिहरु पनि पक्राउ परेकै छन्, यस्तो अवस्थामा अर्को समिति किन चाहिँयो?,’ उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उच्चस्तरीय छानविन समति गठन नगर्ने अडानमा छन् । सय केजी सुन तस्करी प्रकरणकोे अनुसन्धान राजश्व अनुसन्धान विभागले मात्र गर्न नसक्ने पनि धेरैको मत छ । यो प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने आवाजसमेत उठन थालेको छ । सय केजी सुन प्रकरणमा प्रहरीसँगको समन्वयमा राजश्व अनुसन्धान विभागको टोलीले १७ जनालाई पक्राउ गरेको छ । तर मुख्य अभियुक्त पक्राउ परिसकेका छैनन् । यो प्रकरणमा सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरूको नामसमेत मुछिएको छ ।
विपक्षीले उच्चस्तरीय छानविन समितिको माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड भने सय केजी सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने तयारीमा छन् । यसबारे प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्रचार्यसँग छलफल गरेका छन् ।
राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धान प्रभावकारी नभएको गुनासो र प्रमुख प्रतिपक्षीले उच्चस्तरीय छानविन समतिको माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले सय केजी सुन प्रकरणको थप अनुसन्धान सीआईबीलाई दिने बारेमा गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेका हुन् । राजस्व विभागले अहिलेसम्म १७ जनालाई पक्राउ गरेर सुन प्रकरणको अनुसन्धान गरिरहेको छ । तर, सुन तस्करीका मुख्य अभियुक्त व्यापारी राकेश अडुकिया फरार छन् । यो प्रकरणमा सञ्जय बाविया र व्यवसायी दीपक मल्होत्राको नामसमेत जोडिएको छ । उनीहरूमाथिसमेत अनुसन्धान भइरहेको छ ।
तस्कर समूहले अहिलेसम्म २ अर्बभन्दा बढिको सुन तस्करी गरेको निष्कर्ष विभागले निकालेको छ । तर पनि मुख्य अभियुक्त पक्राउ परेका छैनन् । त्यसैले प्रधानमन्त्री प्रचण्डले थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने तयारी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले शुक्रबार सीआईबीलाई सय केजी सुन प्रकरणको अनुसन्धानको जिम्मेवारी दिने निर्णय हुन सक्ने दाबी न्यूजगृहसँग गरेको छ । ‘प्रधानमन्त्रीज्यू सय केजी सुन प्रकरणको अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिनुपर्छ भन्नेमा कन्भिन्स हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘अब राजस्व अनुसन्धान विभागले शुक्रबार पत्रचार गरेपछि थप स्पष्ट होला ।’