
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाली भाषाले नै सबैलाई एक ठाउँ जोडेर राखेको बताएका छन् ।
समालोचक एवम् साहित्यकार राजेन्द्र सुवेदीको ८१औं जन्मजयन्तीको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष नेम्वाङले सबैलाई जोड्ने नेपाली भाषालाई उन्नत बनाउन राजेन्द्र सुवेदीको योगदान अमूल्य रहेको बताए । उनले सुवेदीले यो देशलाई परिवर्तन गर्नुपर्छ भन्ने सोच राखेको पनि चर्चा गरे ।
उपाध्यक्ष नेम्वाङले भने,‘यो देशका विविध जाति भाषा धर्म संस्कृति र हिमाल तराई र पहाडका मानिसलाई नेपाली भाषाले एकैठाउँ जोडेर राखेर छ । त्यसैले त्यो नेपाली भाषालाई उन्नत बनाउन विकसित गर्न राजेन्द्र सुवेदीले महत्वपूर्ण काम गर्नुभएको छ । बिर्सन नसकीने काम गर्नुभयो र उहाँ त इलामी हो । उहाँ समाजलाई यो देशलाई परिवर्तन गर्नुपर्छ भन्ने सोच राख्ने वुद्धिजीवी हो । उहाँले इलाम क्याम्पस प्रमुखमा खेलेको भूमिका अझै पनि क्याम्पसले सम्झिन्छ । उहाँ विनम्र र शिष्ट किसिमको राजेन्द्र सुवेदी हो ।’
कार्यक्रममा सुवेदीद्वारा लिखित छानिएका भूमिका कृतिको सार्वजनिकीकरण गर्नुका साथै दृश्यबिम्बमा राजेन्द्र सुवेदी नामक वृत्तचित्रको सारांश प्रदर्शन पनि गरिएको थियो ।