रोनाल्डोको गोलमा नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा

काठमाडौं— अल नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा बराबरी गोल गर्दै हारबाट जोगाएपछि नासर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
समूह चरणको अन्तिम खेलमा जामालेकसँग १—१ को बराबरी खेल्दै नासर समूह उपविजेताको हैसियतले नकआउट चरणमा पुगेको हो । समूह सी मा नासरले ३ खेलमा ५ अंक जोड्दा अल शबाब ३ खेलमा ७ अंकसहित शीर्षस्थानमा रह्यो ।
जामालेकका लागि जिजोले ५४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । तर रोनाल्डोले ८७ औं मिनेटमा हेडरमार्फत बराबरी गोल गर्दै अल नासरलाई अघि बढाएका थिए । नासरले अब ६ अगस्टमा हुने क्वाटरफाइनलमा मोरक्कोको राजा कलासाबान्काको सामना गर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० ०९:१७