
काठमाडौं— व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीप कुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
योसँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाको तीन महिनापछि आज रुङ्गटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए ।
अदालतका स्रेस्तेदार ईश्वर आचार्यले उक्त मुद्दामा रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिएका हुन् । जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले उक्त आदेश गरेको हो ।
व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय वेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावलविरुद्ध किटानी जाहेरी दिएको थियो ।
रावललाई प्रहरीले वैशाख २२ गते पक्राउ गरी चितवन ल्याएको थियो । उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रुङ्गटा फरार थिए ।
कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नु परेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए ।