News Griha :: न्यूजगृह
व्यवसायी कँडेल मृत्यु प्रकरण : अनमोल फिड्सका सीए रावल पक्राउ, रुङ्गटा फरार

चितवन— व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । 

भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

राति नै उनलाई चितवन ल्याइएको छ । आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए । भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो ।

कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन् । सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् ।

रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पण्डितले नेपाल प्रहरी, सीआईबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए  ।

कँडेल मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए । नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १०:०१
Weather Update