News Griha :: न्यूजगृह
थ्रीस्टार खप्तड गोल्डकपको फाइनलमा

धनगढी— सुदूरपश्चिमलाई पराजित गर्दै थ्रीस्टार क्लव मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधिका लागि शनिबार मनाङ मर्स्याङ्दी क्लवसँग खेल्नेछ ।

खेलको ३०औं मिनेटमा पहेंलो कार्ड पाएका थ्रीस्टारका दिपेश गुरुङ ४४औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । थ्रीस्टार क्लव १० खेलाडीमा सिमित भए पनि पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् ।

विक्रम लामाले ८३ औं मिनेटमा हेड मार्फत् गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा आयोजक टिमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्‍याएका थिए ।

पेनाल्टी सुटआउटमा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्रीस्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए । थ्रीस्टारका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो ।

सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो । खेलको ‘म्यान अफ दि म्याच’ थ्रीस्टारका कप्तान विक्रम लामा घोषित भए ।

मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २०:५९
Weather Update