News Griha :: न्यूजगृह
टेलिभिजन रियालिटी शो ‘महा गफाडी’ घोषणा, निर्णायक को–को छन् ? 

काठमाडौं— टेलिभिजन रियालिटी शो  ‘महा गफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए ।

उनले भने,‘कतिले सजिलै गफाडी उपमा पनि दिँदै आएका छन् । तिनै गफाडी, वाककलाका धनीहरूको खोजी गर्ने एक नवीन प्लेटफर्म हो महा गफाडी ।’

यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन् । आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै कुनै प्रस्तुति पनि दिन पाइने भएता पनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उनले बताए ।

कार्यक्रमको निर्णायकका रूपमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा लामो समयदेखि आफ्नो उपस्थितिले सबैलाई मनोरञ्जन दिइरहेका कलाकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । कार्यक्रमलाई अभिनेता कामेश्वर चौरसियाले सञ्चालन गर्नेछन् ।

आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद १५ लाख र सवारीसाधन, द्वितीय हुनेले नगद १० लाख र सवारीसाधन तथा तृतीय हुनेले नगद पाँच लाख र सवारीसाधन प्राप्त गर्नेछन् ।

सोह्र हप्तासम्म चल्ने कार्यक्रम अवधिभर प्रतियोगीहरूले कुनै भाषा, लैङ्गिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी कुनै प्रस्तुति दिन पाउने छैनन् ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:११
Weather Update