News Griha :: न्यूजगृह
स्कटल्याण्ड र आयरल्याण्डले बनाए टी—२० विश्वकपमा स्थान

स्कटल्याण्ड— घरेलु टोली स्कटल्याण्डले उपाधि जितेको छ । आईसीसी टी–२० विश्वकप युरोप क्षेत्र छनोटको अन्तिम खेलमा टेस्ट  राष्ट्र आयरल्याण्डलाई ८ रनले हराउँदै स्कटल्याण्डले उपाधि जितेको हो ।

स्कटल्याण्ड र उपविजेता आयरल्याण्डले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी—२० विश्वकपमा स्थान बनाएका छन् ।

जितका लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५ रन बनायो ।

आयरल्याण्डका तल्लोक्रमका ब्याटर मार्क आदिरले ३६ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए पनि टोलीले जितेन ।

एन्डी बालबर्नी ४, कप्तान पल स्टर्लिङ २१, लोर्कान टकर डक, ह्यारी टेक्टर १, कर्टिस क्याम्फर २८, निल रक २० र जर्ज डोकरेल १७ रनमा आउट भए ।

स्कटल्याण्डका तीव्र गतिका बलर ब्राड्ली करीले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । माइकल लिस्कले ३ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । स्कटल्याण्डका ब्रेन्डन म्याकमुलेनले ३५ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए ।

कप्तान रिची बेरिंग्टन २९ बलमा ३ चौका र ४ छक्कासहित ५४, जर्ज मुन्शे २०, म्याथ्यु क्रस ३० र माइकल लिस्क २१ रनमा आउट भए ।

आयरल्याण्डका ब्यारी म्याकार्थी र बेन ह्वाइटले समान दुई विकेट लिए । स्कटल्याण्ड ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रह्यो । आयरल्याण्ड ६ खेलमा ९ अंकका साथ दोस्रो स्थानमा रहेर विश्वकपमा पुगेको हो ।

स्कटल्याण्डका कप्तान रिची बेरिंग्टन प्लेयर अफ द टुनामेन्ट घोषित भए । उनले ५ खेलमा २ सय ४८ रन बनाएका थिए ।

प्रतियोगितामा आयरल्याण्ड, स्कटल्याण्ड, डेनमार्क, जमर्नी, जर्सी, इटाली र अष्ट्रिया थिए । नेपालले पनि आगमी नोभेम्बरमा एसिया कप विश्वकप छनोट आयोजना गर्नेछ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०९:१८
Weather Update