
काठमाडौं— दक्षिण एशियाली खेलकुद (साग) की ४ स्वर्ण पदकधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा फेरि अर्को नयाँ राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छन् ।
बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा भारतको गुवाहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यस अघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन् ।
ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपको बुधबार भएको पुरुषतर्फको १०० मिटर फ्रिस्टाइलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११ औं एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।
यसअघि मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनेट १२.४६ सेकेन्ड समयमा दूरी पूरा गरेकी थिइन् । यस अघि डुवानाको व्यक्तिगत समय २ मिनेट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनेट ११.९४ सेकेन्डको समय रहेको छ ।
अब नेपाली खेलाडीहरूको दुई खेल बाँकी छ । बिहीबार लामाले १०० मिटर फ्रिस्टाइल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् ।