News Griha :: न्यूजगृह
काठमाडौंमा आपराधिक गतिविधि बढ्दो
जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख दानबहादुर कार्की

काठमाडौं— काठमाडौंमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ ।  

जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौंमा अपराधको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७७/७८ मा ५ हजार ६६२, आर्थिक वर्ष २०७८/७९ मा ८ हजार ९७७ र आर्थिक वर्ष २०७९/८० मा १३ हजार ४६४ अपराधका मुद्दा दर्ता भएका थिए ।

जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंभित्र बैंकिङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको बताए । ‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने ।

आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका १३ हजार ४६४ अपराधका मुद्दामध्ये बैंकिङ कसुरका मात्र ७ हजार १०१, अभद्र व्यवहारका २ हजार ८९४, चोरीसम्बन्धी ६४७, ठगीका ४१४, लागुऔषधका ३६८, आत्माहत्यासम्बन्धी ३५७ मुद्दा रहेका छन् । त्यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा ३२६, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी १८९, कर्तव्य ज्यानसम्बन्धी २७ र अन्य अपराधका एक हजार १४१ मुद्दा दर्ता भएका थिए ।

प्रहरीले हाल काठमाडौंभित्र ५६ प्रहरी इकाईमार्फत सुरक्षा प्रवाह गर्दै आइरहेको छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:२२
Weather Update