
काठमाडौं— अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा काठमाडौंमा आपराधिक गतिविधि बढेको देखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० मा अपराधका घटना बढेको जानकारी दिएको हो । अघिल्लो वर्ष दर्ता भएका मुद्दा ८ हजार ९७७ रहेकोमा गत आर्थिक वर्ष १३ हजार ४६४ मुद्दा दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।
टप टेनमा पर्ने अपराधमा चेक बाउन्स पहिलो नम्बरमा रहेको उनले बताए । कार्कीले भने, ‘अघिल्लो आर्थिक वर्षको तुलनामा बैकिङ कसुरको मुद्दा तीन हजार तीन सय ८६ ले अपराध बढेर सात हजार एक सय एक पुगेको छ ।’ त्यस्तै अभद्र व्यवहार, चोरी ठगी र लागूऔषधका अपराध पनि बढ्दो अवस्थामा रहेको काकीले बताए ।
त्यस्तै अभद्र व्यवहारमा २ हजार ८९५ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा यो कसुरमा २ हजार ३१६ मुद्दा दर्ता भएका थिए । चोरी सम्बन्धी कसुर पनि १८७ ले बढेको छ । अघिल्लो वर्षको तुलनामा ठगी सम्बन्धी मुद्दा भने घटेको छ । अघिल्लो वर्षमा ८१२ वटा मुद्दा दर्ता भएको गत वर्ष ४१४ वटा मात्र मुद्दा दर्ता भएका छन् । गत वर्ष लागूऔषध सम्बन्धी मुद्दा तीन सय ६८ दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो २९ वटा मुद्दा बढि हो ।
प्रहरीका अनुसार आत्महत्या सम्बन्धी घटना पनि बढेको छ । यसमा तीन सय ५७ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष यो संख्या तीन सय ४१ थियो । महिला तथा बालबालिका सम्बन्धी कसुर भने घटेको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष तीन सय ८२ थियो भने गत वर्ष तीन सय २५ मात्र झरेको छ ।
सवारी ज्यान तथा अंगभंग सम्बन्धी कसुर अघिल्लो वर्ष एक सय ७३ र गत वर्ष १ सय ८९ दर्ता भएका छन् । कर्तव्य ज्यान मुद्दा अघिल्लो वर्ष ३७ थियो भने गत आर्थिक वर्षमा २७, अन्य अपराध अघिल्लो वर्ष ४ सय २ थिए भने गत वर्ष एक हजार एक सय ४१ वटा मुद्दा दर्ता भएका छन् ।