News Griha :: न्यूजगृह
असोज ६ देखि चीनको हाङ्झोउमा एसियाली खेलकुद हुँदै, प्रधानमन्त्री प्रचण्ड जाने  

 
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङ्झोउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागि हुन जाने भएका छन् । 

२०६६ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागि भएका दाहाल यस पटक हाङ्झोउमा एसियाली खेलकुदको १९ औँ संस्करणमा सहभागि हुने भएका हुन् । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्युरो सदस्य युआन च्याच्युनसँग इटालीमा रहेका प्रधानमन्त्री दाहालले आइतबार भर्चुअल कुराकानी गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएका युआनसँगको छलफलमा प्रधानमन्त्री दाहालले एसियाली खेलकुदका क्रममा चीन आउने बताएको निकट स्रोतको दाबी छ । 

एसियाड आगामी सेप्टेम्बर २३ अर्थात् असोज ६ गते देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन हुँदैछ । यसअघि १९औँ एसियाली खेलकुद सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना हुने तय भएको थियो । तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो पटक एसियाली खेलकुदको आयोजना भएको यस प्रतियोगितको १९ औं संस्करणमा सहभागी हुन ४५ राष्ट्रका १२ हजार ५ सय खेलाडीले नाम दर्ता गराएका छन् । एसियाली खेलकुदमा आयोजक चीनका साथै थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङ्कङका करिव ६ सय खेलाडी सहभागी हुनेछन् । 

प्रतियोगिताका लागि हेइजाङका पाँचवटा सहआयोजक सहरमा ५४ वटा खेलस्थल तयार पारिएको छ । एसियाडका खेलहरू हाङ्झोउ,निङ्बो,वेनझोउ,हुझोउ,साओझिङजिनहुआ गरी ६ वटा सहरमा आयोजना हुनेछन् । उक्त प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिने छ ।  

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०९:२०
Weather Update