
काठमाडौं— भारतको ‘ए’ टिमलाई पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ ।
आइतबार श्रीलंकामा भएको फाइनलमा पाकिस्तानले भारतलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पाकिस्तानले दिएको ३५३ रन लक्ष्य पछ्याएको भारत ४० ओभरमै २४० रनमा अलआउट भयो ।
भारतका लागि ओपनिङ ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन जोडे भने ओपनर साइ सुदर्शन २९ रनमा आउट भए । कप्तान यश धुल ३९ रनमा पभिलियन फर्के ।
बलिङमा पाकिस्तानका सुफियान मुकिमले ३ विकेट लिए । अर्सद इकबाल, मेहरम मुम्ताज र मोहमद वासिमले २–२ विकेट लिए ।
त्यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा ३५२ रन जोड्यो ।
पाकिस्तानका लागि तयब तहिरले शतक प्रहार गरे । उनले ७१ बलमा १२ चौका र ४ छक्काको मद्दतमा १०८ रन जोडे ।
ओपनरद्वय सइम अयुबले ५९ रन र सहिबजाडा फरहानले ६५ रनको योगदान दिए । बलिङमा भारतका रविबद्धन र रियान परागले २/२ विकेट लिए ।