
काठमाडौं— बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ । शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ । कुमार नगरकोटीले लेखेको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका हुन् ।
एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्र ‘मायावी’ लाई तीनजना अभिनेत्रीले चित्रण गरेका छन् । सोमध्ये एक पात्रको भूमिकामा अभिनेत्री शिल्पा मास्केले निर्वाह गरेकी छिन् । यो उनको पहिलो नाटक हो ।
नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सन राई र घिमिरे युवराजलगायत कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै थापागाउँस्थित मण्डला नाटकघरमा असार ८ देखि मञ्चन भएको मनोवैज्ञानिक (साइकोलोजिकल थ्रिलर) विधामा बनेको ‘हिउँभन्दा चिसो’ नाटक यही साउन १४ गतेसम्म मञ्चन हुनेछ ।
सोमनाथ खनालले निर्देशन गरेको नाटकमा कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा छन् । यसमा रेणु योगी, र गोविन्द सुनारको लगायतले अभिनय गरेका छन् ।