काठमाडौं— लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ ।
श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् ।
यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले शनिबार काठमाडौं उपत्यकामा रहेको तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो ।
चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए । ‘सय दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए’, उनले भने ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ‘जारी’ को गत असार ३१ गतेसम्म छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ ।
‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेकाे बताए ।
उनले भने,‘महिला आँटिला र साहसिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानबिना बस्दैनन् । उनीहरुको आत्मसम्मानको कथा चलचित्रमा प्रस्तुत गरेको छु ।’
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन् ।