News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शुक्रबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

साउन ५ गते शुक्रबार राजनीति, सुरक्षा अपराधलगायत विषयका समाचार मुख्य मुख्य बनेका छन् । शुक्रबार पनि १०० किलो सुन तस्करीकै सेरोफेरोमा सबैको ध्यान केन्द्रित रह्यो । सुन तस्करी प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । शुक्रबार ललिता निवास प्रकरणबारे पनि मुख्य समाचार बनेका छन् । सो प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति, सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश जस्ता समाचारले पनि प्राथमिकता पायो । त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको धर्मसम्बन्धी स्टाटसले पनि सामाजिक सञ्जाल तातेको छ । यी बाहेक नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक, संघीय संसदीय समितिको बैठक, गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग र केही नेताका अधिव्यक्ति शुक्रबार मुख्य मुख्य समाचार बने ।

000

१०० किलो सुन तस्करी प्रकरणमा बिहीबार पक्राउ परेका थप ४ जना आरोपितलाई ९ दिन थुनामा राखेर अनुसन्धन गर्न उच्च अदालत पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार आदेश दिएको छ । मंगलबार, बुधबार र बिहीबार गरेर विभागले सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको थियो । अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । बिहीबार पक्राउ परेकालाई ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । शुक्रबार म्याद थप गरिएका आरोपितहरुमा चिनियाँ नागरिक जीक्वाङ लिन, कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।

000

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीनलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । यससँगै १७ जनाको हकमा सर्वोच्च अदालतले २०७९ साउन ४ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज भएको छ । हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरूलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै शाह, गौतम र गुरुङ सर्वोच्च अदालत गएका थिए ।

यो पनि पढ्नुहोस

000

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश दिएको छ ।  न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुना बाहिर रहेर मुद्दा लड्न आदेश दिएको हो । ‘...निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन’,आदेशमा भनिएको छ । अदालतले राउतलाई मुद्दा हेर्ने अदालतको आदेश बिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान रोक लगाएको छ ।

000

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार  बहालवाला सचिव कृष्णबहादुर राउत, व्यापारी मीनबहादुर गुरुङसहितका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । यो प्रकरणमा १८ जना पक्राउ परेका छन् । 

000

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नुपर्ने बताएकी छिन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेता राणाले पार्टीमा लागिसकेपछि पार्टीको तथा पार्टीका नेताहरुको संरक्षण गर्नु सबै कार्यकर्ताको कर्तव्य भएको बताइन् । नेत्री डा.राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारुपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिएकी हुन् । उनले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली कांग्रेस पार्टी सफल हुने र त्यसपछि मुलुकको राजनीति र कांग्रेसका नेताहरु सफल हुने धारणा राखिन् । उनले पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको गुनासो पनि गरिन् । ‘निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशत उठाउनै पर्छ भनेको छ, हाम्रो पार्टीको योजना के हो ?’ उनको प्रश्न थियो,‘अन्तिममा टर्च बालेर महिला खोज्ने हो कि अहिलेदेखि नै काम गर्ने हो ।’ उनले राजनीति गर्ने र सरकार चलाउनेबीच खाडल रहेको भन्दै त्यसमा पनि कांग्रेसले ध्यान दिन जरुरी रहेको बताइन् ।

000

पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलङ्कामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै एसिया कपका लागि श्रीलङ्कामा  १५ दिनको स्पेसल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ । ‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलङ्कामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौँ’, क्यानले भनेको छ । उक्त समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकन डेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने समेत क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली क्रिकेट टोली अहिले उतै छ । हाई परफरमेन्स क्याम्प सकिएपछि टोली स्वदेश फर्कने छ ।

000

स्वतन्त्र कानून व्यवसायीहरूले एक सय केजी  सुन काण्डका मुख्य अपराधी बचाउने कार्य भएको भन्दै आक्रोशित बनेका छन् ।शुक्रबार उक्त विषयलाई लिएर स्वतन्त्र कानून व्यवसायीहरूले महान्यायाधिवक्ताको कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् । कानून व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार एक सय केजी सुन काण्डका मुख्य अपराधी बचाउन र सोझा सीधा गरिबलाई थुनामा लिई प्रहरीले यातना दिएर बयान लिने गरेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

000

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ । मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुन बारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले राजस्व र प्रशासनका निर्देशकसहितको चार सदस्यीय समिति गठन गरिएको हो । यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने उनले बताए ।

000

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अब साउन ७ गते बस्ने भएको छ । साउन २ गतेदेखि दिनहुँ चलिरहेको बैठक शनिबार भने नबस्ने भएको हो । सभापति शेरबहादुर देउवाले शुक्रबारको बैठक सक्नुअघि अब साउन ७ गते बिहान ११ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक सुरु हुने बताएका हुन् । केन्द्रीय सदस्यहरूले बैठकमा विभिन्न धारणा राखेका छन् ।

000

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्द्वारा शुक्रबार सिंहदरबारमा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयको अन्तक्रियामा उनले भने,‘विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाटै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरुपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ ।’

000

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरूद्ध मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ ६ बजेपछि उनीहरू मसाल जुलुस निकालेका हुन् । उनीहरूले ‘सर्वसाधारणलाई सियो ल्याउँदा पिर्‍यो, तस्करीको सुन कसरी छिर्‍यो’, ‘सर्वसाधारणलाई कचकच, तस्कर रजगज’, ‘सुनको रह्‍यो ब्रेक शु, तस्करीमा गृहमन्त्रीकै ब्रेक थ्रु’, लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरे ।

000

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टी अलमलमा हुँदा अप्ठेरोमा परेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा उनले भने,‘पार्टी अलमलमा छ । हामीलाई खतरा अरूबाट होइन, आफैंभित्रबाट छ ।’ भ्रष्टाचारका विषय उठ्ने गरेको भन्दै उनले कोही नेतालाई अभियोग लाग्दैमा दोषी करार गर्न नमिल्ने बताए । ‘कांग्रेस भनेको एउटा घर हो, परिवार हो । घरको सदस्यलाई लान्छना लाग्दा छिटो पक्राउ गर भन्दै गृहमन्त्रीकहाँ जाने ?,’उनले प्रश्न गरे,‘परिवारको सदस्य अभियोगमा मुछिएमा वकिल राख्छौं कि थानामा लगेर बुझाउँछौं ?’

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २१:००
Weather Update