
काठमाडौं— काभा भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् ।
नेपाल भलिबल संघले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदक विजेता महिला र पुरुष खेलाडीलाई सम्मान गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पदकविजेता महिला टोली कोपिला उप्रेती र कमला पुन तथा पुरुष टोली दिलबहादुर सुनार र मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरेका हुन् ।
उनीहरूलाई नगद २५ हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सोही अवसरमा संघले टोलीका प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुन मगरलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको थियो ।
सन् २०२२ को डिसेम्बर २८ देखि ३० तारिखसम्म बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले रजत पदक जितेका थिए । च्याम्पियनसिपमा महिलामा पाँच र पुरुषमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
संघका महासचिव रोशनबहादुर श्रेष्ठले विभिन्न प्राविधिक कारणले पदकविजेतालाई पुरस्कार दिन ढिलाइ भएको उल्लेख गर्दै आगामी दिनमा समयमा नै खेलाडीलाई प्रोत्साहनका कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।