
काठमाडौं— पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलङ्कामा विशेष तयारी गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै एसिया कपका लागि श्रीलङ्कामा १५ दिनको स्पेसल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ ।
‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलङ्कामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौँ’, क्यानले भनेको छ ।
उक्त समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकन डेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने समेत क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली क्रिकेट टोली अहिले उतै छ । हाई परफरमेन्स क्याम्प सकिएपछि टोली स्वदेश फर्कने छ ।
एसिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । नेपालले पाकिस्तानसँग पाकिस्तानको मुल्तानमा अगस्ट ३० मा खेल्नेछ भने भारतसँग श्रीलङ्काकोक्यान्डीमा सेप्टेम्बर ४ मा खेल्नेछ । विश्व क्रिकेटकै दुई बलिया राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ ।
वैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् । जहाँ हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।
हाल नेपाली क्रिकेट टोली एसीसी इमर्जिङटिम्स एसिया कप खेल्न श्रीलंकामै छ । नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ । समूह चरणमा भारत र ए र पाकिस्तान ए सँग पराजित भएको नेपालले युएई ए लाई पराजित गरेको थियो ।