News Griha :: न्यूजगृह
यू–१६ युथ फुटबल लिग : चर्च ब्वाइजलाई संकटाले हरायो

काठमाडौं— अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी युथ लिगमा बिहीबार संकटाले चर्च ब्वाइजमाथि फराकिलो जित निकालेको हो । जारी लिगमा संकटाको दोस्रो खेलमा पहिलो जित हो ।

पहिलो खेलमा भने संकटा एपीएफसँग २–१ ले स्तब्ध भएको थियो । चर्च ब्वाइजले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि पहिलो खेलमा चर्च ब्वाइज फ्रेण्ड्स क्लवसँग २–० ले पराजित भएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा संकटाका लागि सबिनकुमार लुंगेली मगरले दुई गोल तथा रूपेश भुजेल र कृष्णबहादुर आलेले समान एक गोल गरे ।

चर्च ब्वाइजका कुनाल जिम्बाले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा संकटाका दिलेन लिम्बूले डिएरियाभित्र प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार चर्च ब्वाइजका रोहन परियारले सहजै बचाउ गरे ।

तर, २४औं मिनेटमा सविनले गोल गर्दै संकटालाई अग्रता दिलाए । मनिष थापामगरले दिएको लामो पास नियन्त्रणमा लिँदै सविनले गोल गरेका हुन् । त्यसको चार मिनेटपछि नै संकटाले अर्को गोल गर्‍यो । किशोरकुमार दनुवारको कर्नर पासमा सविनले हेडमार्फत दोस्रो गोल गरे ।

पहिलो हाफको थप समयमा दिलेनको अर्को प्रहार चर्च ब्वाइजका गोलकिपर रोहनले मुस्किलले बचाउँदा संकटाले फराकिलो अग्रता लिने अवसर गुमायो । दोस्रो हाफमा पनि संकटाले दुई गोल थप्दा चर्च ब्वाइजले एक गोल फर्कायो ।

५३औं मिनेटमा कुनाल जिम्बाले लामो पास नियन्त्रणमा लिँदै काउन्टर अट्याकमार्फत गोल गरे । त्यो गोलसँगै चर्च ब्वाइज खेलमा फर्केन संकेत गर्‍यो । यद्यपि, ८०औं मिनेटमा संकटाले तेस्रो गोल गर्‍यो ।

चर्च ब्वाइजका डिफेन्डर युर्गेन रुम्बाले ब्याक पास नियन्त्रणमा लिन नसक्दा उक्त बल खोस्दै संकटाका रूपेश भुजेलले गोल गरेका हुन् । ८५औं मिनेटमा संकटा अर्को गोल थप्दै फराकिलो जिततर्फ अग्रसर भयो ।

डीएरियामा चर्च ब्वाइजका खेलाडीले लडाएपछि संकटाले पेनाल्टी अवसर पायो । उक्त पेनाल्टीमा कृष्णबहादुर आलेले गोल गर्दै संकटालाई फराकिलो जित दिलाए । कुल १० टोली सहभागी युथ लिगमा दोस्रो चरणको खेल सुरु भएको छ ।

आगामी ६ महिनासम्म चल्ने लिगमा मनाङ र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपीएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्दैछन् ।

लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा हुनेछन् । उक्त खेलहरू शनिबार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:३१
Weather Update