फिफा वरियतामा नेपाल पुरानै स्थानमा

काठमाडौं— विश्व फुटबलको सर्वोच्च निकाय इनटरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १७५ औँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ ।
नेपालभन्दा अघि रहेको भारत ९९ औँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ । नेपालपछि भुटान १८५ औँ, बङ्गलादेश १८९ औँ, पाकिस्तान २०१ औँ, र श्रीलङ्का २०४ औँ स्थानमा छ ।
विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्याण्ड चौथो तथा बेल्जियम पाँचौं स्थानमा छन् ।
यसैगरी क्रोसिया छैटौँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवौँ तथा स्पेन दशौँ स्थानमा छन ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १६:१८