News Griha :: न्यूजगृह
भारत 'ए' विरुद्ध रोहितको अर्धशतक

काठमाडौं— श्रीलङ्कामा जारी  एसीसी इमर्जिङटिम्स एसिया कप अन्तर्गत भारत 'ए' विरुद्धको  खेलमा नेपाली कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

सुरुमा धर्मराएको नेपाललाई सम्हाल्दै रोहितले अर्धशतकीय पारी खेलेका हुन्। चौथो क्रममा आएका रोहितले नेपालको स्कोर उकास्ने क्रममा ६४ बलको सामना गर्दै अर्धशतक पूरा गरेका हुन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ३७ रनको अवस्थामा ५ विकेट गुमाइसकेको थियो ।

तर अहिले कप्तान रोहित र सोमपाल कामीले नेपाली इनिङ सम्हालिरहेका छन्। ओपनर कुशल भुर्तेल २ बलको सामना गर्दै शून्यमै एलबीडब्लू धरापमा परेर पेभेलियन फर्किए। त्यस्तै अर्का ओपनर आशिफ शेख पनि १५ बलमा केबल ७ रन जोड्दै क्याच आउट भए। उनले आफ्नो पारीमा एक चौका हाने।

उता लामो समयपछि सिनियर टिममा अवसर पाउँदै तेस्रो क्रममा ब्याटिङमा उत्रिएका देव खनाल पनि २१ बलमा १५ रन जोड्दा क्याच आउट भए। उनले आफ्नो पारीमा ३ चौका हाने। पाँचौ क्रमका भीम सार्की पनि क्रिजमा टिक्न सकेनन्। भारतीय खेलाडीले धारिलो बलिङ गर्दा उनी पनि ८ बल खेल्दै ४ रन जोडेर पेभेलियन फर्किए।

अर्कातिर छैटौँ क्रमका कुशल मल्लले खाता नखोली क्याच आउट हुन पुगे। उनले ६ बलको सामना गरेर खाता खोल्नै नपाई आउट भए।

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १६:३६
Weather Update