News Griha :: न्यूजगृह
यसपटक साउनमा दुर्लभ संयोग : ८ वटा सोमबार, ४ प्रदोष व्रत जुर्‍यो

काठमाडौं— साउनको व्रत बस्नेहरूका लागि यस पटक ८ वटा सोमबार परेको छ ।

साउन महिनाको पहिलो सोमबार आज परे पनि यस पटक तिथिले साउनको सोमबार असार २५ गते नै परेको थियो । यसपटक साउन २ गतेदेखि अधिकमास परेकोले शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ । साउन ८, साउन १५, साउन २२ र साउन २९ गते परेका सोमबार अधिमास अवधिका हुन् । 

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास पर्दा साउनको सोमबार आठवटा हुने पुगेको हो । चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसपटक साउन महिना आगामी भदौ १४ गते बिहीबारसम्म पर्ने पनि समितिले उल्लेख गरेको छ ।

साउन महिनालाई भगवान शिवको प्रिय महिना मान्ने गरिन्छ । यही मान्यताका कारण पनि साउनमा विशेष व्रत बसी माछामासु मदिराबाट टाढा रहेर सात्विक भोजन ग्रहण गर्ने चलन छ । 

गुरुपूर्णिमाको ठीक एक महिना पछि आउने जनैपूर्णिमा यो वर्ष दुई महिनामा पर्नेछ । यसपटक साउन महिना कुल ५८ दिनसम्म रहने पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसकारण साउनका ८ सोमबार र ४ वटा प्रदोष व्रत गरी साउने शिवरात्रि पर्व मनाइने भएको छ । साउनको अन्तिम सोमबार व्रत र प्रदोषको दुर्लभ संयोग पनि यसपटक जुरेको छ ।

साउनमा व्रत बस्दा भगवान शिव चाँडै खुसी भएर वर दिने विश्वास र मान्यता नेपाली समाजमा छ । यही कारण पनि भगवान शिवलाई आशुतोष भनेर सम्बोधन गर्ने र पूज्ने चलन पनि छ ।

साउनको सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तालुको भीड लाग्ने गर्दछ । 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:००
Weather Update