News Griha :: न्यूजगृह
भोलिदेखि मलमास शुरु हुँदै, मच्छेनारायण मेलाको सम्पूर्ण तयारी पुरा 

काठमाडौं—  अधिकमासमा भव्य मेला लाग्ने चन्द्रागिरी नगरपालिका– ९ स्थित मच्छेनारायण मन्दिरमा मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक समितिले  जनाएको छ । 

चन्द्रागिरी नगरपालिकाको वडा ९ का वडाध्यक्ष अच्युत अधिकारीले मलमाससमेत भनिने अधिकमास अवधिभर लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका हुन्। 

machhenarayan mandir (4)1689582484.jpg

मेला व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘मेला व्यवस्थापनको हकमा सजावटलगायतका काम भएको छ । एक्सेस रोड मर्मत गरिएको छ । केही ठाउँको मर्मत गरिएको छ । केही काम बाँकी छ त्यसलाई पनि हामी पुरा गर्ने तयारीमा छौं । मेलामा लाइन बसेर दर्शन गर्नको हकमा चाँडो दर्शन गर्नसक्ने गरी व्यवस्था गरिएको छ । अशक्तहरूलाई पनि चाँडै दर्शन गर्न सक्ने व्यवस्था गरिएको छ । कुण्डमा पानीको व्यवस्था गरिएको छ । ’ 

machhenarayan mandir (3)1689582484.jpg

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ। एक महिनामा लाखौँ भक्तजनको भीड लाग्ने मेलामा भारतलगायत नेपालका विभिन्न ठाउँबाट दर्शनार्थी पुग्ने गरेका छन् ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख छ । मत्स्यनारायण रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा पनि यस मन्दिरको पुरा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । 

machhenarayan mandir (8)1689582483.jpg

मत्स्यनारायण मेला
काठमाडौंबाट झन्डै ८ किमि दक्षिण पश्चिम भेगमा पर्ने मत्स्यन्यायको मन्दिरमा मलमास सुरु भएको दिनदेखि अर्थात साउन २ गतेदेखि एक महिना लामो मलमास मेला सुरु हुदैँछ । मलमास अवधिभर कीर्तिपुरबाट चार किमि दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा—पुरुषोत्तम माहात्म्य वाचन गर्ने परम्परा छ।

machhenarayan mandir (7)1689582483.jpg

भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमासमेत उल्लेख छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति छ।

Achut Adhikari 1689582705.jpg
अच्युत अधिकारी

विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । मलमासबाहेक नववर्ष लगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यन्यायको दर्शन गर्ने भक्तजनको घुइँचो गर्ने गर्दछ । 

machhenarayan mandir (5)1689582483.jpg

के हो मलमास ? 
पुरुषोत्तम मास पनि भनिने अधिक मासलाई भगवान विष्णुले स्वयम् आधिपत्य स्वीकार गरेको किंवदन्ती छ । सूर्यले ग्रहण नगरेको मास अर्थात महिनालाई भगवान् पुरुषोत्तम स्वयम्‌ले आधिपत्य स्वीकार गरेकाले यो मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ। अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने गर्नुहुँदैन । मलमासमा पतिपत्नी विवाहको प्रथम वर्ष हो भने साथ नबस्ने मान्यता छ ।

machhenarayan mandir (6)1689582483.jpg

machhenarayan mandir (2)1689582482.jpg

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:०९
Weather Update