
काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले, हिरो बन्ने आफ्नो चाहना पुरा नभएको भन्दै ठट्टा गरेका छन् ।
चलचित्र काँडेतारको च्यारिटी शो हेरेपछि सञ्चारकर्मीसँग मन्त्री किरातीले हाँस्दै आफूलाई पनि हिरो हुने मन भएको तर पहुँच र योग्यता नपुगेका कारण आफू हिरो हुन नसेकेको टिप्पणी गरे ।
उनले भने, ‘मलाई पनि हिरो हुने इच्छा थियो । तर म बन्न सकिन् । मेरो त्यो क्षेत्रमा पहुँच र योग्यता पुगेन ।’
संस्कृति मन्त्री हुनुको नाताले आफूले नेपाली कला र संस्कृतिको प्रर्वद्धन गर्नु पर्ने दायित्व रहेको बताएका उनले सिनेमालाई नरम कुटनीतिको संज्ञा पनि दिए ।
‘म त्यसै पनि सिनेमा मन पराउँछु । त्यसमा पनि संस्कृति मन्त्री भाको नाताले संस्कृतिको मैले प्रर्वद्धन गर्नु पर्नेछ । सिनेमा फेरी देशको नरम कूटनीति पनि हो ।’ उनले भने ‘नरम कुटनीतिको माध्यमबाट विश्वको मन जित्नु सकियो भने सबैभन्दा ठुलो हतियार पनि सिनेमा हो । यसले आफ्नो देशको राजनीति आफ्नो देशको दर्शन आफ्नो देशको व्यवस्था र भाषा संस्कृतिको विस्तार गर्छ यो कुटनीतिले त्यसैले म हेर्न आएको हो,’ उनले भने ।
आगामी फागुनमा रिलिज हुन लागेको चलचित्र काँडेतारको विषयमा आफूले धेरै कुरा नबोल्ने बताएका उनले चलचित्र निर्माता तथा नायक नवल खड्काको प्रशंसा गरे । उनले भने, ‘यत्ति भन्छु चलचित्रमै लागेर अल्गो कद बनाएको मान्छले निर्माण गरेको चलचित्र राम्रो बनेको छ बाँकी फागुनमा फेरी चलचित्र हेरेपछि भनौँला ।’
उनले सांस्कृतिकपरिवर्तनका लागि समेत सिनेमाको क्षेत्रबाट मार्ग दर्शन गर्न आवश्यक रहेको बताए ।