
तनहुँ—गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई प्रदेश मातहत आउन आग्रह गरेका छन् ।
भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको अवसरमा शुक्रबार तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घाबेँसीस्थित भानुभक्त जन्मस्थल विकास समिति र भानु नगरपालिकाद्वारा संयुक्त आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सुस्तगतिमा भइरहेको कामलाई तीव्र पार्न समिति प्रदेशमा आउनुपर्ने बताए ।
प्रदेश मातहत आएको खण्डमा विकास समितिले गरेका कामलाई दोब्बर हुने गरी काम गर्ने उनले बताए । उनले भने,‘समिति प्रदेश मातहत आएको खण्डमा हामी अनुभूति हुने गरी काम गर्नेछौँ ।’
‘सङ्घ सरकार मातहत नै रहनुपर्छ भन्ने उचित लागेमा राख्नुहोस्, तर प्रदेशअन्तर्गत आएमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा भएका कामलाई दोब्बर गर्छौँ । सम्मान हुने गरी कार्यक्रम ल्याउनेछौँ’, मुख्यमन्त्री पाण्डेले भने,‘आदिकवि भानुभक्त आचार्यले गरेका ऐतिहासिक कार्य सदा अविस्मरणीय रहनेछ, भानुभक्तले खनेका घाँसीकुवाको ऐतिहासिक, धार्मिक एवं पुरातात्विक तवरले संरक्षण र संवद्र्धन गर्नुपर्नेछ ।’
भाषा, साहित्यको क्रान्ति ल्याउने भानुभक्तको योगदानको स्मरण गर्दै उनले पर्यटकीय तवरबाट यहाँका विकासका लागि नगरपालिकाको साथमा प्रदेश सरकारसँगै रहेको उल्लेख गरे ।