
असार २९ गते शुक्रबार प्रतिनिधि सभा बैठक, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको नेपाल भ्रमण, पशुमा देखिएको लम्की स्किन रोग, मिटरब्याजसम्बन्धी विधेयक, आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीजस्ता विषयका समाचार मुख्य मुख्य बनेका छन् । शुक्रबार संसदमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी दिनमा बस्ने संसद् बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिए । त्यसैगरी शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको शोकसभा, बाढीपहिरो, विभिन्न राजनीतिक दलका अभिव्यक्ति र भारतले चन्द्रमाको सतहमा मानवरहीत अन्तरिक्ष यान चन्द्रयान–३ प्रक्षेपण गरेको खबर पनि मुख्य मुख्य बने ।
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शुक्रबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
000
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशियासम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् । लू उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छन् ।
000
नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा भेला भई निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले पनि निर्माण व्यवसायीहरुले गरेका भुक्तानी कुनै पनि किसिमबाट गर्ने प्रतिवद्धता जनाए पनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
000
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाएकाे छ । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ । सो अवसरमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पनि पुष्पमाला अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
000
नेपाल पुलिस क्लब्ले शुक्रबारदेखि सुरु भएको एन्फा यु–१६ युथ लिगमा विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा शुक्रबारदेखि सुरु भएको लिगमा पुलिसले मनाङ मस्र्याङ्दी क्लवलाई २–१ ले हराउँदै सुखद् सुरुवात गरेको हो । खेलको चौथो मिनेटमा नै पुलिसले गोल गर्दै सुरुआती अग्रता लिएको थियो ।
000
कलाकारहरु नेपाली पत्रकारिताको विश्वसनियता कम हुँदै गएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाली चलचित्रमा मिडियाको प्रभाव अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरुले चलचित्र क्षेत्रका खोजमुलक समाचार लेख्न सक्नुपर्ने बताए । उनीहरुले चलचित्र क्षेत्रमा भएका विकृतिहरुका बारेमा पनि सिने पत्रकारहरुको कलम चलाउनुपर्ने बताए । उनीहरुले सानो गल्तीलाई पनि मलजल गरेर ठूलो बनाइदिने परिपाटीले आत्महत्यासम्मको बाटो राज्नुपरेको कतिपय कलाकारले उल्लेख गरे । कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले मिडिया भन्ने बित्तिकै पछिल्लो समय आफूलाई बन्दुक तेर्साएको जस्तो हुने गरेको बताइन् । कार्यक्रममा बोल्दै अर्की अभिनेत्री केकी अधिकारीले पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनियता भएपनि पछिल्लो समय विश्वसनियतामा कमी आउने गरेको बताइन् । कार्यक्रममा बोल्दै चलचित्र कलकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्रको समीक्षा गर्दा पूर्वाग्रही हुने गरेको बताउँदै यस्ता कुरामा यथार्थता पस्कनुपर्ने बताए ।
000
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए । उनले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताए ।
000
संखुवासभा जिल्लाभित्र निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ४०० केबी प्रसारण लाइन विस्तारमा सम्बन्धित जग्गा धनीहरुसँग छलफल नै नगरी कम मुआब्जा वितरण गरिएको भन्दै उपप्रधान एवं गृहमन्त्रीलाई सम्बन्धित जग्गाधनीहरुले ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार उनीहरुले सिंहदरबारमा मन्त्री श्रेष्ठलाई भेटेर कानुनसम्मत रुपमा मुआब्जा वितरण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
000
अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ बढेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ बढेको बताए उनले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताए । ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भिर रहेको उनको भनाइ छ ।
000
शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक गिरीले लम्की स्किन रोग नियन्त्रणका लागि सरकार उदासिन भएको बताए उनले सो रोगबाट किसानहरुलाई ३७ अर्ब बराबरको क्षति भइसकेको भन्दै अझैपनि पशुहरुलाई प्रभावकारी ढंगले खोप लगाउन नसकिएको बताए ।
000
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्तिहरुलाई राज्यको सर्वोच्च निकायमा पुर्याउनुपर्ने बताए । उनले दलित समुदायका व्यक्ति देशको प्रधानमन्त्री नभएसम्म जातिय छुवाछुत अन्त्य नहुने धारणा राखे ।
000
सभामुख देवराज घिमिरेले लम्की स्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसलाई जानकारी गराउन निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले रोगको रोकाथामका लागि सरकारले गरेको कामको बारेमा संसदलाई जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई निर्देशन दिएका हुन् । उनले भने, ‘लम्की स्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरुदेखि आजका बैठकमा पनि माननीय सदस्यहरुबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरुको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देश गर्दछु ।’