
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख देवराज घिमिरे,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार निधन भएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
शुक्रबार मात्रै नेपाल भ्रमणमा आएका संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले पनि दिवङ्गत सीताको तस्बिरमा माल्यापर्ण गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।
त्यसअघि अर्थमन्त्री डा.प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, शहरी विकासमन्त्री सीता गुरुङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता डा.शशांक कोइरालालगायतका नेता तथा कार्यकर्ता पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेर श्रद्धाञ्जलि अर्पण गरे ।
यस्तै, नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका शीर्ष नेताले पनि प्रधानमन्त्री प्रचण्डलाई भेट गरी समवेदना प्रकट गरे ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा, नेता हितराज पाण्डेले पनि शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सो पार्टीका शीर्ष नेताहरु, सांसद सोविता गौतमलगायतले पनि प्रधानमन्त्री र उनको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पाँच हजार बढी नागरिकले पनि प्रधानमन्त्री पत्नी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरे ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यहाँस्थित जापान, मलेसिया, स्वीटजरल्याण्ड, म्यानमार, थाइल्याण्ड, पाकिस्तान, इजिप्ट, भारत, बेलायत, जर्मनी, अष्ट्रेलिया, नर्वेलगायतका मुलुकका राजदूत एवं प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधिलगायतले पनि प्रधानमन्त्री र उनको परिवारलाई भेटेर समवेदना प्रकट गरेका थिए ।
साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि बिहिबार र शुक्रबार बिहान ८:०० देखि १० बजेसम्म र अपराह्न ४:०० देखि साँझ ६:०० बजेसम्मका लागि समय निर्धारण गरेको थियो ।