News Griha :: न्यूजगृह
आदिकविको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गरिने

काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले तनहुँको भानु नगरपालिका–१ भन्सारमा आयोजित राष्ट्रियस्तरको ‘नाइन ए साइड फुटबल’ प्रतियोगिताको उद्घाटन गरेका छन् ।

दुई सय दशौँ भानु जयन्तीका अवसरमा भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालबिस्ने युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै खेलका कारण नेपाल विश्वमाझ चिनिन सफल भएको उल्लेख गरे ।

उनले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रुपमा विकास गरिने बताए ।

साउन ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यो जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको प्रतियोगिता हो ।

प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख २५ हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिने भीमसेन युवा क्लवका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए ।

त्यस्तै द्वितीय हुनेलाई एक लाख १२ हजार दुई सय १० र तृतीय हुनेलाई २० हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार दुई सय नगद पुरस्कार प्रदान गरिनेछ । 

प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, गोरखा, चितवनलगायतका जिल्लाबाट टोलीको सहभागिता रहेको छ ।

सोही अवसरमा आयोजित छेलो प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार दुई सय दश र बाघचालतर्फ प्रथम हुनेलाई पाँच हजार दुई सय १० नगद प्रदान गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:१६
Weather Update