News Griha :: न्यूजगृह
 टेबल टेनिस खेलाडीको बिदाइ

काठमाडौं— चीनमा आयोजना हुने १९औं एशियाली खेलकुदको तयारी स्वरुप नेपालको टेबलटेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा नेपालको २९ खेलमध्ये टेबल टेनिसको टोलीले पनि चुनौती प्रस्तुत गर्दैछन् ।

सोही एशियाली खेलकुदको तयारीका लागि नेपालको टेबल टेनिस टोलीले भारतमा दुई महिने प्रशिक्षण गर्ने भएको हो । महिला र पुरुषतर्फ नेपालका शीर्ष तीन वरीयताका खेलाडीले आगामी जुलाई १८ देखि १९औं एसियाडका लागि तयारी गर्दैछन् । महिलातर्फ नविना श्रेष्ठ, सिका सुवाल र इभाना थापा तथा पुरुषमा संयोग कपाली र विलास श्रेष्ठ छन् ।

यी खेलाडी एसियाडमा सात विधामा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । भारतमा वैदेशिक प्रशिक्षणमा जान लागेका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिदाइ गरेका थिए ।

नेपाली टोलीको प्रशिक्षणमा सञ्जीव ढुंगेल, सन्ध्या साक्य तथा टिम म्यानेजर धर्ममान वज्राचार्य छन् । सोही कार्यक्रममा कतारको दोहामा आगामी जुलाई १७ देखि २२ सम्म आयोजना हुने एशियन युथ टेबल टेनिस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने टोली टोलीको बिदाइ गरिएको थियो । उक्त च्याम्पियनसिपमा नेपालले पुरुष र महिलाको सिंगल्स, डबल्स, मिक्स र टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्ने राष्ट्रियटोलीकी प्रशिक्षक सन्ध्या शाक्यले जानकारी दिइन् ।

पुरुषमा पूजन गडाल, विशाल गोले, गनन्जय दाहाल तथा महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का छन् । मोहनदास बासुकलाको प्रशिक्षणमा रहने उक्त टोलीलाई पनि सोही कार्यक्रममको अवसरमा बिदाइ गरिएको थियो । शुक्रबार नै आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली युथ च्याम्पियनसिपमा पदक विजेता नेपाली टोलीलाई समान नगद १० हजार रुपैयाँले सम्मान गरिएको थियो ।

भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा गत वैशाख ३१ देखि जेठ ४ सम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले यु–१९ ब्वाइज टिममा एक स्वर्ण,  एक यु–१५ गर्ल्स डबल्समा रजत र अन्य विधामा ६ कांस्य पदक जितेका थिए । उनीहरूलाई पनि राखेप सदस्यसचिव घिसिङ र संघका अध्यक्ष राजवैद्यले सम्मान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:४०
Weather Update