
तनहुँ—
मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति ।
—भानुभक्त आचार्य
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो ।
भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०/८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।
घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उनले भने,‘कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गामाटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ,नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ ।’
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उनले भने,‘विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।’
भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भने,‘आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।’
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ ।
वि.सं. २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर एक लाखमा पुनःनिर्माण गरेका थिए । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा एक लाख २७ हजारको क्षति भएको थियो ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताए । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ ।
भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।
भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताए ।