News Griha :: न्यूजगृह
सुदूरपश्चिम–११ खप्तड गोल्डकपकाे सेमिफाइनलमा, आयुषकाे ह्याट्रिक

धनगढी— धनगढी रंगशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’ को आजको खेलमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गरेको छ ।

जितसँगै आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबलाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गरे ।

खेल सुरु भएको पाँच मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए । ३०औँ मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । दोस्रोे हाफको ५१औँ र ६३औँ मिनेटमा गोल गर्दै आयुषले ह्याट्रिक गर्न सफलता पाएका हुन् ।

आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित आयुष रु दश हजारबाट पुरस्कृत भए । नेपाल पुलिस क्लबले आजको प्रतिस्पर्धामा गोल गर्न पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

अब सुदूरपश्चिमले थ्री स्टारसँग सेमिफाइनलको प्रतिस्पर्धा गर्नेछ । बुधबार मानाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर फुटबल टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । धनगढी रंगशालामा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २०:२९
Weather Update