
काठमाडौं— कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्न खेलमा मधेश प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६२ रनले पराजित गर्यो । पहिला ब्याटिङ गरेको कोशी प्रदेशले मधेश प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको थियो ।
जवाफमा मधेश प्रदेश २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रनमा समेटियो । मधेशका लागि कप्तान सरस्वती चौधरीले १७ बलमा एक चौकासहित सर्वाधिक १० रन बनाइन् ।
यस्तै साना प्रवीनले आठ, अमिरन निशाले आठ तथा चाँदनी खातुनले चार रन जोडिन् । बलिङतर्फ कोशीकी कप्तान रुविना क्षेत्री, निसा शाह र एलिसा खडियाले समान दुई/दुई तथा सबनम राईले एक विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियोे । कोशी प्रदेशका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् ।
उनले ३८ बल खेल्दै छ चौका प्रहार गरिन् । यसैगरी, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन् ।
बलिङतर्फ मधेश प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई/दुई विकेट लिए । उपाधिका लागि एपीएफ र कोशी प्रदेशबीच यही चैत्र १६ गते फाइनल खेल हुनेछ ।