प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको संघर्षपूर्ण जित

काठमाडौं— राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएको हो ।
हेल्प नेपालले एपीएफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ भने महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यही असार ३० गते हुनेछ । रासस
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १८:११