News Griha :: न्यूजगृह
बगान : ‘एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्‍याउने प्रयास’

काठमाडौं— उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताएकी छिन् । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उनले उक्त चलचित्रमार्फत एकल आमाको कथा, संघर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताइन् ।

‘एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्‍याउने प्रयास गरिएको छ । समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई चलचित्रमार्फत उजार गरिएको छ’, उपसभामुख रानाले भनिन् ।

समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । ‘एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रस्ट्याउँदै यसले समय परिवर्तन गर्न भूमिका खेल्छ’, उनले भनिन् ।

विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मी उपस्थित थिए । चलचित्र हेरेपछि अभिनेता रमेश उप्रेतीले आफूले केही दृश्यमा आँसु रोक्न नसकेको प्रतिक्रिया दिए । उनले भने,‘यसमा कथ्यशैलीसँगै हरेक कलाकार आफूलाई सुहाउँदो भूमिकामा प्रस्तुत हुनुभएको पाएँ । अभिनेता सरोज खनालको भूमिका महत्वपूर्ण रहेको पाएँ ।’

अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताइन् । ‘उनले भनिन्,‘यसमा मेरो र मेरो आमाको कथासमेत पाइन्छ । यसले समाज र परिवारको कारण आफूलाई स्वतन्त्र हुनबाट रोकिरहेका एकल आमालाई जीवन बाँच्ने प्रेरणा दिन्छ । म प्रतिनिधि पात्र मात्र हुँ ।’

उनले दर्शकलाई परिवारका साथमा चलचित्र हेर्न आग्रह गरिन् । यसै चलचित्रमार्फत अभिनयको सुरुआत गरेकी  अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै चलचित्रकर्मी बन्दा उत्साह र डर दुवै रहेको बताइन् ।

चलचित्रका गीतकार सुरेश वाग्लेले कथालाई अगाडि बढाउन गीतले भूमिका खेलेको बताए । तीन दशकको अभिनयको अनुभव सङ्गाल्दै निर्देशक बनेका अभिनेता खनालले आफूलाई कथावाचक भन्न रुचाए ।  उनले भने,‘मैले त कथा र पात्रलाई भेट गराए । बाँकी काम उहाँले नै गर्नुभयो । यसलाई स–परिवार हेर्न म आग्रह गर्दछु ।’

चलचित्रमा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन् ।  सो चलचित्र यही असार २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०७:४९
Weather Update