
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बुधबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
असार २७ गते बुधबारको दिन सुखद् रहेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनले सबैलाई दुःखी तुल्यायो । विभिन्न मन्त्री, नेताकार्यकर्ता तथा आम मानिसहरूको ध्यान सीताको निधनमा केन्द्रित रह्यो । बुधबार सीताको निधनको खबर नै बिहानदेखि बेलुकीसम्म मुख्य बन्यो । त्यसैगरी बुधबार कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवादको विषयमा सर्वोच्च अदालतले दिएको आदेशको समाचार मुख्य रूपमा रह्यो । सर्वोच्चले उक्त मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न,नगराउन कोशी सरकारलाई आदेश दिएको छ । यी बाहेक काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध माइतीघरमा प्रदर्शन, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित, संसदीय समिति बैठक स्थगित, राष्ट्रिय सभा बैठक स्थगित, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ तथा छानबिनका समाचार पनि बुधबार मुख्य बने ।
000
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार पशुपति आर्यघाटमा दाहालको अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरलाई पति पुष्पकमल दाहाल, दुई छोरी रेनु र गंगा दाहालले दागबत्ती दिए । दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभ चिन्तकहरुले श्रद्धाञ्जलि दिएका थिए ।
000
सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई पनि आवद्ध गराउने भएको छ । बुधबारदेखि नै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा दायरा विस्तार गर्नेगरी शुभारम्भ गर्ने कार्यक्रम भए पनि प्रधानमन्त्रीकी धर्मपत्नी सीता दाहालको निधनको कारण रोकिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा आवद्धता गराउने प्रक्रिया औपचारिक रुपमा छिटै गर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरेको बताए ।
यो पनि पढ्नुहोस
000
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले विरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ ले काठमाडौं महानगर अगाडि मेयर बालेन साहविरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादती विरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए । उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गनेको बताए ।
000
सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् । बुधबार ललितपुरको हरिहर भवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न दवाव स्वरुप एक घण्टा धर्ना दिएका हुन । यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताइन् । उनले पशुपालक किसानहरुले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताइन् ।
000
सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बुधबार उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ,‘मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू,नगराउनु ।’ निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । अदालतले आगामी साउन ७ गतेको पेशी तोकी उक्त विवादमा छलफल गर्नेछ । आदेशमा निवेदक तथा महान्यायाधिवक्ता र मुख्य न्यायाधिवक्ता कोशी प्रदेशलाई दिन र उक्त विवादमा उक्त मितिमा सुनुवाइमा राखी निर्णयार्थ पेश गर्न भनिएको छ ।
यो पनि पढ्नुहोस
000
ललिता निवास जग्गा प्रकरणमा गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार दिउँसो काठमाडौंको गोकर्णबाट उनलाई नियन्त्रणमा लिएको हो । पौडेलले किर्ते कागजात तयार पारी ललिता निवासको जग्गा व्यक्तिका नाममा पुर्याउन सघाए बापत सूवर्ण शमशेर राणाका भोगाधिकारीबाट १४ आना जग्गा नै घुस लिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।