
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज मंगलबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
असार २६ गते मंगलबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाले सबैलाई दुःखी बनायो । मंगलबार यो समाचार मुख्य बन्यो । लगातारको अवरोधपछि राष्ट्रिय सभा बैठक सुचारु भयो र आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल भयो । मंगलबार विद्यालय कर्मचारीको ३९ दिनदेखिको आन्दोलन स्थगित भयो । यी बाहेक मंगलबार रोपाइँ, मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरू र नेताका अभिव्यक्ति पनि मुख्य समाचार नै बने ।
OOO
सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका—५ को सीमा लाम्जुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर (सीबी) गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । मृत्यु हुने यात्रुमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक छन् ।
OOO
सरकारले मनाङ एअरको हेलिकप्टर दुर्घटना छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
OOO
अदालतको अवहेलना मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । आइतबार साहले उक्त मुद्दामा वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार इजलासले वारेस राख्ने अनुमति नदिएपछि मेयर बालेन अब आफैं तारेख खेप्न आउनुपर्ने छ ।
OOO
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका संगठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ । सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले माइतीघरमा एक महिनादेखि रिले अनशन र वार्ता कार्य जारी राखेका थिए । तलबमान तय गर्दा लेखापाललाई खरिदार सरह र कार्यालय सहायकलाई श्रेणीविहीन सरहको सुविधा उल्लेख गर्ने सहमति भएको र उक्त सहमतिको प्रतिवेदन वार्ता समितिले शिक्षामन्त्री अशोककुमार राईलाई बुझाएको छ । पारिश्रमिकमा काम गर्नुपरेको, सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशबमोजिम कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी सर्भिस ल बनाई कार्यान्वयन गर्न विद्यालय कर्मचारीले माग गर्दै आएका छन् ।
OOO
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न बनाएको आयोगको अवधिको तीन महिना थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज) को समस्या समाधन गर्न बनाएको आयोगको अवधि थप गरेको हो । तीन महिनाका लागि समय थपेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यो पनि पढ्नुहोस
OOO
राष्ट्रिय सभामा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।
यो पनि पढ्नुहोस
OOO
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्नेमाथि छानबिन गरिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे । ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको उनको भनाइ छ । सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्ने उनले बताए ।
OOO
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्ट्याएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौँ बैठकमा उनले आफ्नो पार्टी सरकार बनाउने, जोगाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए । ‘हामीले भनेका छौँ– हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौँ । त्यतातिर सोचेका पनि छैनौँ,’ उनले भने, ‘हामी ग्रासरूटमा लाग्यौँ । अब मिशन २०८४, मिशन ५१ पर्सेन्ट । यतापट्टि हामी लागेका छौँ ।’ उनले सरकार र सत्तारूढ दलहरूले झुट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए । ‘केही पनि गरेको छैन राम्रो काम । यसले के गर्यो ? ढाँट्छ, छक्याउँछ,’ उनले भने ।
OOO
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले बोल्दै प्रधानमन्त्रीले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने,‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान,नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पुर्याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु ।’
OOO
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए । उनीहरुमाथि मन्त्रिपरिषदको निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ । त्यो फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा समक्ष पेस भएको पाइएको प्रहरीले जनाएको छ । यसअघि आइतबार सीआईबीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो । कीर्ते तथा सङ्गठीतरुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायतलाई पक्राउ परिसकेका छन् । प्रहरीले अहिलेसम्म १४ जनालाई पक्राउ गरिसकेको छ ।