News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू

काठमाडौं— सरकारले मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यसैगरी बैठकले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ ।

सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा समेत गरेको छ । वरीयताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले बताइन् ।

उनले भनिन्,‘मंगलबार कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ । अहिले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३ ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । यो पहिला भन्दा साढे २ सय रुपैयाँले बढी हो । त्यसै गरेर गृह मन्त्रालयको प्रस्तावमा यो अनुचित लेनदेन, यो मिटरब्याज सम्बन्धि जाँचबुझ आयोग बनेको थियो हाम्रो । त्यो आयोगको म्याद ३ महिना थप गर्ने भन्ने निर्णय गरिएको छ । संघीय निजामती सेवा ऐन अनुसार वरीयताको आधारमा लक्ष्मीकुमारी बस्नेत सचिव पदमा बढुवा हुनु भएको छ । त्यसै गरेर आज असाध्य दुःखद् घटना तपाईहामी सबैलाई थाहा छ–क्याक्सिकोका नागरिकहरु बोकेको मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ । यसप्रति मन्त्रिपरिषद् बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।’

मन्त्रिपरिषद् बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य पनि तोकेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १९:१५
Weather Update