News Griha :: न्यूजगृह
प्रधानमन्त्री कप भलिबल : एपीएफ विजयी
फाइल तस्बिर ।

काठमाडौं— राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा मंगलबार भएको पहिलो खेलमा एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । 

एपीएफले खेलको पहिलो सेट २५–९, दोस्रो सेट २५–१२ र खेलको तेस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पार्‍यो । यस जितसँगै एपीएफ तीन खेलमा आठ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । तीन खेलमा नौ अङ्क जोडेको विभागीय टोली नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । 

त्यस्तै दुई खेलमा छ अङ्क जोडेको न्यू डायमन्ड स्पोर्टस क्लब तेस्रो स्थानमा रहेको छ । एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एभरेष्टको भने यो लगातार तेस्रो हार हो । प्रतियोगितामा महिलातर्फ छ तथा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:२६
Weather Update