News Griha :: न्यूजगृह
मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटबल टोली बंगलादेश जाँदै

काठमाडौं— बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमबीच एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र पदाधिकारीलगायतले टोलीलाई जितका लागि शुभकामनासहित बिदाइ गरेका हुन् ।

१९औं एसियन गेम्सको तयारीमा रहेको नेपाली महिला फुटबल टिमले जुलाई १३ र १६ तारिखमा बंगलादेशको ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्ने छ । टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले राष्ट्रिय टोलीमा सावित्रा भण्डारीको उपस्थितिले उत्साह थपेको र राम्रो प्रर्दशन गर्ने विश्वास व्यक्त गरे ।

टोलीमा गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, फरवार्डमा,सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, मिडफिल्डरमा,रेनुका नगरकोटे, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही,तथा डिफेण्डरको भूमिकामा अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्जली वाइबा, समीक्षा घिमिरे रहेका छन् ।

नेपाली महिला टोलीमा डिफेण्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड गरी मुख्य प्रशिक्षक थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

नेपाली टोलीको व्यवस्थापकमा बिन्द्रा देवान रहेका छन् भने सहायक प्रशिक्षकमा पारस चौधरी तथा गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा रहेका छन् ।

गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र बंगलादेशबीच महिला फुटबल प्रथम पटक हुन लागेको हो ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०६:५९
Weather Update