
तनहुँ— राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ ।
भानु जयन्तीको अवसरमा यही असार २९ गते शुक्रबार आदिकविको ससुराली गाउँ मानुङमा साहित्यिक कार्यक्रम गर्न लागिएको हो ।
आदिकवि भानुभक्त आचार्यकी धर्मपत्नी चन्द्रकला खनाल आचार्यको नामबाट स्थापित ‘आदिकवि भानुभक्त आचार्यरचन्द्रकला खनाल आचार्य स्मृति प्रतिष्ठान’ ले भानुभक्तसँगै उनकी श्रीमतीको पनि स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सचिव रामहरि खनालले जानकारी दिए ।
सो अवसरमा कविता वाचन, रामायण वाचनका साथै भानुभक्त र चन्द्रकलाको जीवनीबारे कार्यपत्र प्रस्तुत गरिनेछ ।
आदिकविको योगदानको महिमा चर्चा गर्दै गर्दा उनकी धर्मपत्नीको योगदानलाई पनि उपेक्षा गर्न नहुने भन्दै उनको सम्मानमा कार्यक्रम आयोजना गरिएको सामाजिक अभियन्ता देवीबहादुर बस्नेतले जानकारी दिए ।
भानुको मात्र स्मरण गर्दै आएको भन्दै उनले अब भानुसँगै श्रीमतीको पनि स्मरण गर्न आवश्यक छ भन्ने महसुस गरिएको उल्लेख गरे ।
साथै मानुङको पर्यटकीय सम्भावनालाई उजागर गरी साहित्य र पर्यटनसँगै विकास गर्ने उद्देश्यले पनि अभियान थालिएको उनको भनाइ छ ।