News Griha :: न्यूजगृह
२५औँ एसियाली एथलेटिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने 

काठमाडौं— थाइल्यान्डको पतायामा हुने २५औँ एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन् ।

जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दीपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १,५००/५,००० मिटर दौड, सोमबहादुर कुमालले ४००/८०० मिटर दौड तथा शिवराज पार्की र आयुश कुँवरले १००/२०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

महिलामा राजपुरा पछाईंले ५,००० मिटर दौड तथा फुलमती रानाले ८००/१,५०० मिटर दौडमा भाग लिनेछन् । मुकेश, शिव र आयुशबाहेक सबै खेलाडी चीनको हाङझाउमा हुने १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ तथा अफिसियलमा जितेन्द्र चौधरी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली आइतबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १८:०३
Weather Update