News Griha :: न्यूजगृह
सरकारले युवा तथा खेल क्षेत्रलाई महत्व दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ 

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिले युवा तथा खेल क्षेत्रलाई महत्व दिँदै आएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित ७औँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा उनले खेलाडीलाई सम्मान गर्ने कार्यमा वर्तमान सरकार बढी सक्रिय रहेको बताए । 

उनले भने, ‘सरकारले यतिबेला सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता सहित युवा तथा खेल क्षेत्रलाई समेत महत्व दिँदै आएको छ । प्रतियोगिता चलिरहेको बेला प्रधानमन्त्री तथा उपप्रधानमन्त्री सहित मैदान मै पुगेर खेलाडीहरूलाई प्रोत्साहित गर्ने कुरा होस्, खेलको विकासको निम्ति पूर्वाधार विकासमा महत्व दिने कुरा होस् वा विजेता खेलाडीहरूलाई सम्मान गर्ने कुरा होस् यो सबै तथ्यहरूले वर्तमान सरकार बढी सक्रिय रहेको छ ।’

२०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेललाई राष्ट्रिय खेलको घोषणा गर्दै भलिबलको विकासमा राज्यको भूमिका बढाउने निर्णय गरेको थियो । 

उक्त निर्णयले देशभरिका लाखौँ भलिवल खेलाडीहरूलाई उत्साहित तुल्याउनको साथै राष्ट्रिय गौरवमा उत्साहित गरेको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १५:५७
Weather Update