
असार २० गते बुधबार देशमा राजनीतिक विषयको समाचार मुख्य बनेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा बोलेको कुरालाई लिएर विपक्षी दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक नै अवरुद्ध गरे । एमालेले राष्ट्रिय सभामा पनि अवरोध पुर्यायो । नेपालमा पहिलो पटक ट्रक ल्याएका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ प्रचण्डले भनेका थिए । दाहालको यसै भनाइलाई लिएर एमालले दुबै सदन अवरुद्ध मात्र गरेन राजीनामा नै मागेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिबारे यतिखेर पक्षविपक्षमा टिकाटिप्पणी भइरहेको छ । त्यसैगरी प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गर्नु मिटरब्याजीविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन भएको बताएका छन् । यस बाहेक बुधबार संसदीय समितिका बैठक, बाढीपहिरो, रोपाइँ, एसईई परीक्षाको नतिजा, शिक्षक कर्मचारीका आन्दोलन पनि मुख्य समाचार नै बनेका छन् ।
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बुधबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
०००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजीविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उनले संसदमा मिटरब्याजीकाविरुद्धको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूची रहेको तर प्रतिपक्ष दलले विधेयक पास हुन नदिन पुस्तक विमोचनका बेलाको अभिव्यक्तिलाई बहाना बनाएर सदन अवरोध गरेको बताए ।
०००
शहरी विकासमन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छिन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले शहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताएकी हुन् । उनले शहर व्यवस्थित बनाउन नागरिकहरु आफैं सचेत बन्नुपर्ने बताइन् । उनले स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन नसक्दा पनि शहर व्यवस्थापन चुनौती बनिरहेको बताइन् ।
०००
संसदीय समितिले बाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवम् सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले बाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खालि गर्न सरकारलाई निर्देशन दिएको बताए ।
०००
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित हुन नपर्ने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले नदी किनार ओगटेर बस्नेहरुको अवरोध हटाउनु पर्ने बताए ।
यो पनि पढ्नुहोस
०००
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौंका नदीहरु ढल बगाउने नदी बनिरहेकोप्रति दुःख व्यक्त गरे ।
०००
महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलाबार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् । उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिए ।
यो पनि पढ्नुहोस
०००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । बुधबार राष्ट्रिय सभा बैठक सुरु हुने बित्तिकै राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।
०००
सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गरेका छन् । बुधबार प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर एमालेसहितका विपक्ष दलहरुले राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए । सोही सन्दर्भमा संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्री दाहालले सो विषयबारे संसदमा चाँडोभन्दा चाँडो स्पस्टीकरण दिनुपर्ने बताए ।
यो पनि पढ्नुहोस
०००
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेकोे बताएका छन् । मन्त्री ज्वालाले सेवा प्रवाहको कामलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासनको प्रवर्द्धन गर्न सरकारले विज्ञहरुसहित यातायात्र क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको र त्यसले दिएको सुझावलाई छिट्टै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
०००
सरकारले सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको काम पनि शुभारम्भ गरेको छ । बुधबार सिंहदरबारमा एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो विद्युतीय सेवा प्रवाहको कामको औंपचारिक उद्घाटन गरेका हुन् । सो सेवालाई एक महिनाभित्रै देशव्यापी रुपमा लागु गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
यो पनि पढ्नुहोस
०००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताएका छन् । राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको भनाइ थियो । प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद बैठक अवरुद्ध पारेका थिए । त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ सो अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालको स्पस्टीकरण नभई राजीनामानै आफ्नो पार्टीलाई चाहिएको बताए ।
यो पनि पढ्नुहोस